08.01.2025 By Sunita Silwal
बिमानस्थलबाट बिदाईका हातहरू हल्लि नै रहँदा
कति बेला अश्रुका धारा तप्पकै खस्यो थाहा नै भएन
घर छोडियो, समाज, साथी-संगी सबै त्यही नै छोडियो
ए नानी, भात खान आइज भन्ने आवाज पनि त्यही नै छोडियो
आएका थियौ अनेक सपना बोकेर यो बिरानो ठाउँमा
न भाषा न भेष नै मिल्थ्यो यो अपरिचित भेगमा
पहिलो दिन त सारै नै गार्हो भो, न खाना मिल्यो न पानी
धन्न आमा ले पोको पारिदिएकी थिइन् भन्दै लैजा न ए नानी
घर छोडेको येतीका वर्षपछि अहिले येता अर्को घर बनेछ
त्यो बेलाको अपरिचित मुलुक पनि अहिले चिनेजस्तै लाग्दछ
नेपाल घर कता भनेर सोधेको अस्तिझैँ लाग्दछ
झापा, कास्की, सिराहा, बुटवल, प्युठान अहिले सबै आफ्नै भएछ
नसम्झिनु है नयाँ भाइबहिनी, एक्लो छौ तिमी भनेर
मिलिजुली बस्नुपर्छ हामी यहाँ एउटै परिवार भएर
आइसक्यौ, आफू जन्मेको देश, हुर्किएको परिवार त छोडेर
नयाँ परिवेश, नयाँ जीवनमा बस्नेछौ एउटै मुठी भएर
जीवनको गोरेटोमा आइपर्ने दुखमा कहिल्यै पनि नआतिनु
दुखसुखमा साथ दिने यहाँ पनि परिवार छ भन्ने सम्झिनु
दशैँ तिहार चाडबाड रीतिरिवाज सबै जना मिलेर नै मनाउनुछ
के हिमाल, के पहाड, के तराई, हामी सबैको चौतारी नै घर बनाउनुछ
